Articles

नारायणी नदी संरक्षण तथा विकास समिति, भरतपुर

नारायणी नदीको सरंक्षण र विकासको लागि उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर नगरपालिकाको सामुहिक प्रयासले उद्योग वाणिज्य संघ–चितवनको पछाडी पट्टी रहेको भाग अत्यन्त सुन्दर चौरको रुपमा विकास भईरहेको र सो क्षेत्रको विकासको लागि एउटा छुट्टै संस्था दर्ता गरेर दीर्घकालिन परियोजना तयार गरी योजनावद्ध ढंगले विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगतका दिनहरुमा विभिन्न प्रयासहरु भईरहेको थियो । त्यसैको निरन्तरता स्वरुप २०६९ भाद्र १५ गतेका दिन संघको सचिवालयमा उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर नगरपालिकाका पदाधिकारीहरुको समुपस्थितिमा बैठक बसी उद्योग वाणिज्य सघं–चितवनका पूर्व अध्यक्ष रामपस्राद श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय नारायणी नदी संरक्षण एवम् विकास समितिको तदर्थ समिति गठन गरिएको थियो । नवगठित समितिका अन्य सदस्यहरुमा जिल्ला विकास समिति चितवनका स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, योजना अधिकृत दुर्गाभक्त शर्मा ढकाल, कार्यक्रम अधिकृत राजेन्द्र सुवेदी भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत भूवनहरी अर्याल, प्रशासकिय अधिकृत टिकाराम कँडेल र ईञ्जिनियर भोजराज कौडेलका साथै उद्योग वाणिज्य सघं–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई र निवर्तमान अध्यक्ष उत्तम लाल चुके रहनुभएको थियो । नवगठीत तदर्थ समितिले यथाशिघ्र सस्ंथाको विधान तयार पारी संस्था दर्ताको प्रक्रिया अगाडि बढाउनुका साथै अन्य आवश्यक कार्य अगाडी बढाउने निर्णय भएको थियो । साथै समितिले अबदेखी नदी किनारमा कुनैपनि कार्यक्रम तथा क्रियाकलापहरु गर्दा अनिवार्य रुपमा स्विकृत लिन सम्वन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको थियो भने समितिको स्विकृत विना अन्य भौतिक संरचना निर्माण नगर्न पनि अनुरोध गरेको थियो ।

नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरद्वारा सम्पन्न भएका कार्यक्रम तथा क्रियाकलापहरु ः

क) नारायणी नदी संरक्षण तथा विकासको अवधारणा विषयक कार्यशाला गोष्ठी:

नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरले २०६९ पौष १५ गते आईतवारका दिन उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा नारायणी नदी संरक्षण तथा विकासको अवधारणा विषयक कार्यशाला गोष्ठीको आयोजना गरेको थियो ।
कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै शहरी योजनाकार सरोज बस्नेतले नारायणी नदीलाई संरक्षण गरेर धार्मिक, स्वास्थ्य तथा मनोरञ्जन पर्यटनको बिकास गर्न सकिने बताउनुभएको थियो । संसारको धेरैजसो शहरहरु नदी किनारमा छन् र उनीहरुले नदी किनारको विकास गरेरनै शहरलाई व्यवस्थित र सुन्दर बनाएको कुरा उल्लेख गर्दै कार्यपत्र प्रस्तोता बस्नेतले नारायणी नदी पूलदेखी उत्तरको गोरेश्वर मन्दिर सम्मको भागलाई गुरुयोजनामा समावेश गरि विकास गर्ने योजना प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावित गुरुयोजनामा करिव १२० रोपनीको जग्गालाई ४ भागमा विभाजित गरि पूल किनारको क्षेत्रलाई बाल उद्यान, त्यसपछिको क्षेत्रलाई युवायुवतीहरुको लागि लभपार्क, लभपार्क पछि वयस्कहरुको लागि र गौरेश्वर पशुपति मन्दिर नजिकको क्षेत्र बृद्धबृद्धाहरुको लागि धार्मिक पार्कको रुपमा विकास गर्दै लैजाने कुरा उल्लेख थियो । बहुउद्देश्यीय स्थानको रुपमा विकास गर्ने सो क्षेत्रलाई राजनीतिक सभा सम्मेलन गर्नका लागि प्रयोग गर्न नहुने कुरा उल्लेख गरिएको सो गुरुयोजनामा पार्कभित्र जगिङ्ग, ट्रेक साईक्लिङ्ग, पार्क बेञ्चहरु र विभिन्न प्रकारका मूर्तिहरु राखिने योजना छ । यसैगरि पार्कमा घाँसे मैदान, नारायणी नदीबाट पानी तानेर पार्कमा फोहोरा समेत निकालिने, मनोरञ्जनको छुट्टै स्थानको व्यवस्थाका अतिरिक्त पूmड स्टल, सूचना केन्द्र, सार्वजनिक शौचालय र सुरक्षाको लागि सामुदायिक प्रहरीको व्यवस्था समेत गर्ने योजना रहेको थियो ।
नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनको पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यशाला गोष्ठीमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै वहाँले नारायणी नदी किनारलाई आकर्षक ढङ्गले विकास गर्न सकिए पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सकिने भएकाले जिल्ला विकास समिति चितवन, भरतपुर नगरपालिका र उद्योग वाणिज्य संघ–चितवनको संरक्षकत्वमा यो अभियानको थालनी गरिएको बताउनुभएको थियो ।
गोष्ठीमा प्रस्तुत गरिएको अवधारणाहरुको विषयमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, निवर्तमान् अध्यक्ष उत्तम लाल चुकेका साथै उपस्थित सहभागीहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो भने सो अवधारणा माथी बुद्धिजिवीहरु शरदरञ्जन श्रेष्ठ, केदारनाथ खनाल र गोविन्दराज विनोदीले टिप्पणी गर्नुभएको थियो ।
संघका कार्यक्रम अधिकृत दिपकराज विष्टको सञ्चालनमा सम्पन्न भएको सो गोष्ठीको अन्तमा भरतपुर नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत टिकाराम कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ख) बिराट ज्ञान महायज्ञ–२०६९ सम्पन्न:

जिल्ला विकास समिति चितवन, भरतपुर नगरपालिका र उद्योग वाणिज्य संघ–चितवनको संरक्षकत्वमा गठित नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरले सो क्षेत्रको विकासको लागि अर्थ संकलन गर्ने उद्देश्यले विराट ज्ञान महायज्ञ–२०६९ को आयोजना गरेको थियो । २०६९ माघ ११ गते देखी २१ गते सम्म नारायणी नदी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको सो महायज्ञमा ईश्वरकृष्णजी महाराजले भागवत कथाको प्रवचन गर्नुभएको थियो ।
दश दिन सम्म सञ्चालित सो महायज्ञको शुभारम्भ माघ ११ गते विहिवारका दिन विशाल शोभायात्राबाट शुरु भएको थियो । शोभायात्रा पश्चात आयोजना गरिएको समुद्घाटन समारोह महायज्ञको मूल संयोजक रामप्रसाद श्रेष्ठज्यूको सभापतित्वमा र १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यतामा र वालव्यास चैतन्यकृष्णजी महाराजको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा जिल्ला विकास समिति चितवनका स्थानिय विकास अधिकारी वन्धुप्रसाद वास्तोलाले स्वागत मन्तव्य, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले महायज्ञको सफलताको शुभकामना सहित मन्तव्य र भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत भूवनहरी अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
हजारौं श्रद्धालु भक्तजनहरुले दशदिन सम्म श्रवण गर्नुभएको विराट ज्ञान महायज्ञ–२०६९ को भागवत कथा प्रवचनको अन्तिम दिन एक भव्य कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो । माघ २१ गते आयोजना गरिएको सो समापन समारोह विराट ज्ञान महायज्ञ–२०६९ को मूल संयोजक रामप्रसाद श्रेष्ठज्यूको सभापतित्वमा र पूर्व साँसद तथा समाजसेवी मैयाँदेवी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा स्वागत मन्तव्य भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत भूवनहरी अर्यालले र धन्यवाद ज्ञापन स्थानिय विकास अधिकारी वन्धुप्रसाद वास्तोलाले गर्नुभएको थियो । विराट ज्ञान महायज्ञको सफल सम्पादनका लागि उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठको संयोजकत्वमा ४७ सदस्यीय कार्यसम्पादन समिति, २५ वटा कार्यगत समिति र ३०१ सदस्यीय मूल समिति गठन गरिएको थियो ।

 
 

chamber Guest houe copy